समिता श्रेष्ठ
दार्जिलिङका मदन प्रधानले शिक्षण पेशा थाल्नु भएको तीस वर्ष भैसकेको छ । ज्ञान र गंगाको कुनै भूगोल हुँदैन भनेजस्तै दार्जिलिङमा जन्मे हुर्के पनि उहाँको कर्मथलो नेपाल हो । पूर्व नेपाल हुँदै मध्य काठमाण्डौसम्मको दौरानमा उहाँले ज्ञान बाँड्ने काम गर्नुभएको छ ।
जन्म, परिवार र पढाई
प्रधानको जन्म सन् १९६९ मा दार्जिलिङमा भएको हो । हाल उहाँको परिवारमा श्रीमती र दुई छोरी गरेर ४ जना हुनुहुन्छ । उहाँको बाल्यकाल सामान्य अवस्थामा नै बित्यो । बाल्यकालमा फुटबल, भलिबल जस्ता खेलकुदमा रमाएका उहाँले ब्याचरलसम्मको अध्ययन गर्नुभएको छ । प्रधानले अहिले जिरीको जेम्स स्कुलमा शिक्षण पेशा गर्नुहुन्छ । उहाँले ३० वर्ष अगाडि काठमाडौंको सानेपामा रहेको बेथल स्कुलबाट शिक्षण पेशामा सुरु गर्नुभएको हो ।
उहाँ भन्नुहुन्छ,‘दार्जिलिङमा जन्मेर कामको खोजी गर्दा गर्दै नेपाल प्रवेश गरें। दार्जिलिङमा पढेपछि काम गर्न अलि धेरै कम्पिटिसन गर्नुपर्छ । कतिपय अवस्थामा भनसुन नै गर्नुपर्छ । त्यसबेलामा दार्जिलिङबाट धेरै शिक्षकहरु नेपाल आउने गर्नुहुन्थ्यो । नेपालमा दार्जिलिङको शिक्षकको माग थियो । त्यही बेला म पनि नेपाल पसे अनि शिक्षण पेशा सुरु गरे । दार्जिलिङबाट नेपालमा शिक्षक आउने यो क्रम अहिले पनि उस्तै छ ।’
विभिन्न स्कुलमा शिक्षण
प्रधानले दार्जिलिङ, सिक्किम, भोजपुरका स्कुल साथै काठमाण्डौका पनि विभिन्न स्कुलमा शिक्षण गरि सक्नुभएको छ । उहाँ अहिले दोलखा जिरीको स्कुलमा हुनुहुन्छ । ‘जिन्दगी नै एउटा संघर्ष हो । संघर्ष गर्दागर्दै काठमाण्डौको जोरपाटी स्थित आत्तरखेलमा लिटल बर्ड ईङ्लिस बोर्डिङ स्कुल खोलको थिए । तर विभिन्न कारणले मैले त्यो स्कुल छोड्न परे पनि हालसम्म त्यो स्कुल अरुले नै संचालन गरिरहेका छन् ।’
शिक्षक : विद्यार्थीको एउटा अभिभावक
जीवन जिउने क्रममा हामी अनेक कामहरू गर्ने गर्छौ । ती कामहरु मध्येको एक शिक्षण पनि हो । ‘यो शिक्षण पेशामा निश्वार्थ भाव हुनु पर्छ । एउटा शिक्षक भनेको विद्यार्थीको अभिभावक हो । अभिभावकले आफ्नो छोराछोरीलाई जसरी राम्रो बाटो देखाउने कोशिस गर्छ । त्यसरी नै शिक्षकले आफ्नो विद्यार्थीहरुलाई राम्रो राम्रो शिक्षा दिनुपर्छ ।’
प्रधान भन्नुहुन्छ,‘विद्यार्थीहरुलाई इमानदार, नैतिकवान बन्न प्रेरित गर्नुपर्छ । त्यस्तै एउटा शिक्षक भएर काम गर्न चाहने व्यक्तिले आफ्ना विद्यार्थीको अभिभावक हो भन्ने बुझेर जिम्मेवारी निर्वाह गर्न जान्ने हुनुपर्छ । विद्यार्थीलाई असल ज्ञान र शिक्षा दिनु दायित्व हो भन्ने बुझ्नु आवश्यक छ । विद्यार्थीलाई राम्रो काम गर्न र राम्रो बाटो देखाउने गर्नुपर्छ ।’
विगत र वर्तमानमा भिन्नता
जुनसुकै पेशा र क्षेत्रमा लागेर अगाडि बढ्न धैर्यता आवश्यक छ । त्यसको साथसाथै कुनै पनि परिस्थितिलाई समाल्न सक्ने समाधान गर्न सक्ने हुनुपर्छ र लगनशीलता आवश्यकता पर्दछ । शिक्षण पेशा पनि त्यस्तै रहेको प्रधानको अनुभव छ । किनभने हरेक विद्यार्थीहरु फरक फरक स्वभावका हुने गर्दछन् ।
प्रत्येक विद्यार्थीको सोच, बिचार अनुसार आफूलाई ढाल्नुपर्छ । यो शिक्षण पेशा बाहेक अन्य कुनै पनि काम मैले गरेको छैन । यो पेशा नै मेरो जीवन निर्वाहको बाटो हो । यहि पेशामा आबद्ध भएर नै मैले जीवन चलाउदैछु भने मेरा दुई छोरीलाई पनि उचित शिक्षा दिन सकेको छु ।
शिक्षण पेशामा आवद्ध भएर काम गर्दै गर्दा पहिले र अहिलेको शैक्षिक क्षेत्रमा धेरै नै भिन्नता आएको उहाँ बताउनुहुन्छ । ‘अहिले पढ्नको लागि धेरै साधनहरु आएका छन् । अहिले कम्प्युटर, ईन्टरनेट, न्यू टेक्नोलोजीबाट अध्ययन गर्न÷गराउन सकिन्छ । तर पहिले यो अवस्था थिएन, सिमितता थियो ।
मैले अध्ययन गर्दा जुन पुस्तक दिएको हुन्थ्यो । त्यहिबाट पढ्न र अध्ययन गर्नुपथ्र्यो । तर अहिले धेरै बिकास भएको छ । त्यसकारण पहिले र अहिलेको शिक्षाको अवस्था बारे तुलना नै गर्न मिल्दैन । अहिले हाम्रो हातमा भएको मोबाईलबाट नै सबैकुरा पढ्न, सिक्न मिल्छ । त्यति बेला मिल्दैन थियो ।’
रहर पुरा भएन तर पेशाबाट सन्तुष्ट
प्रधानले अध्ययन सकेर काम गर्ने उमेरमा नेपाल छिर्नुभयो । आफू बसेको स्थानमा काम नपाउँदा अन्तै गएर काम गर्नु कसैको रहर हुँदैन । ‘दार्जिलिङमा हुँदा नेपाल पनि बिदेश नै हो । दार्जिलिङमा बस्ने नेपालीहरुमा बाध्यता नै बाध्यता छ । बङ्गालीहरुको अन्डरमा बसेर काम गर्नुपर्छ । हामी स्वतन्त्र भएर त्यहाँ बसेता पनि काम कुरामा अरुको अन्डरमा बस्नु पर्छ । त्यही बाध्यताकै कारण नेपाल पसेको थिएं। तर नेपालमा पनि माओवादी द्वन्द्वका कारण संचालन गरेको स्कुल छोडेर सिक्किम पसेको थिएँ । त्यो पनि एउटा बाध्यता नै थियो ।
हरेक मान्छेले सपना देखेको हुन्छ । मैले पनि ठुलै सपना देखेको थिएँ। तर हामी जस्तो मध्यम वर्गको परिवारले सपना देख्नु पनि हुँदैन । सपना त देखिन्छ । तर हाम्रो जीवन भनेको बाटो हिंड्दै जाँदा जता बाँच्ने आधार भेटिन्छ । त्यतै पस्नु पर्ने हुन्छ । मेरो सपना सुरक्षाकर्मी हुने थियो । तर बाध्यताले त्यो रहर पनि पुरा भएन ।
अहिले गर्दै आएको आफ्नो काम प्रती सन्तुष्ट नै छु र खुशी नै छु । यहि कामबाट दुई वटा छोरीहरुलाई राम्रो पढाएको छु । जेठी छोरीले मास्टर्स गरेर शिक्षण पेशामा र सानी छोरी बिएसी नर्सिङ गरेर सिलगुडीमा नै नर्सको रुपमा काम गर्छिन् ।’
विद्यार्थीले सम्झदा खुसी
शिक्षण पेशामा सजिलो भन्दा गाह्रो पक्षहरु धेरै छन् । कोरोना महामारीले अरु पेशामा जस्तै शिक्षकहरुलाई पनि साह्रै पिरोल्यो । ७/८ महिना बिना जागिर र बिना तलब बस्नुपर्यो । यी यस्ता संघर्ष धेरै भोग्नुपर्छ । तर शिक्षक भएर विभिन्न स्कुलमा पढाएका प्रधानका विद्यार्थीहरु अहिले देश तथा बिदेशमा छन् । उहाँलाई फोन गरेर हाल खबर सोध्छन् । उहाँ भन्नुहुन्छ,‘आफुले जानेको ज्ञान नानि बाबुहरु (विद्यार्थी) लाई बाँड्नु पाउँदा खुशी लाग्छ । यो पेशा गर्दै गर्दा मैले पाएको सफलता ज्ञान हो ।
आफुमा भएको ज्ञान बाँड्दै नानि बाबुमा भएको ज्ञानलाई ग्रहण गर्न पाएको छु । अहिले पनि मैले पढाएका विद्यार्थीहरुले मलाई सम्झने गर्छन् । त्यो विद्यार्थीबाट पाउने सम्मान मेरो लागि अविस्मरणीय छ । मैंले मेरो जीवनमा कमाएको सबभन्दा अमुल्य सम्पत्ति नै यहि माया हो ।’ ‘जीवनमा संघर्ष गर्नु परे पनि आफ्ना छोरीहरुको भविष्य बनाउन सकेकोले सफल नै भएको छु । प्रधानले यहि पेशालाई अझै पनि निरन्तर रुपमा अगाडि बढाउने बताउनुहुन्छ ।
हरेक व्यक्तिको जिवनमा केही काम गर्न वा पेशामा लाग्नको लागि प्रेरणादायी व्यक्ति हुने गर्दछ । उहाँ भन्नुहुन्छ,‘मेरो जिवनको प्रेरणादायी व्यक्ति मेरो अभिभावक नै हुनुहुन्छ ।’ उहाँको अबको योजना धेरै छैन । केही वर्षपछि रिर्टायड हुने बेला आउँदैछ । त्यसपछि आफ्नै गाउँ घर दार्जिलिङ गएर बस्ने योजना रहेको उहाँ सुनाउनुहुन्छ ।












