१८ माघ, काठमाडौं । नेपालमा बर्डफ्लु भित्रिएकाले पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम रहेकाे चिकित्सकले बताएका छन् । बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउ चिकित्सकले सल्लाह दिएका हुन ।
चिकित्सकका अनुसार अब मासु राम्रोसँग पकाएर मात्र खानु पर्ने भएको छ । चिकित्सकका अनुसार बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियस तापक्रममा मर्ने अध्ययनहरुबाट देखिएको छ । त्यसैले ७२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएको खानेकुरा खाँदा राम्रो हुन्छ ।
चिकित्सक भन्छन्, बर्डफ्लुको संक्रमण भएमा निमोनिया र रुघाखोकी जस्तै लक्षण देखिन्छ । जाडो मौसममा यसले झन् असर गर्न सक्ने भएकाले पन्छी र पन्छीजन्य पदार्थको सम्पर्कमा नजान र सरसफाइमा बढी ध्यान दिन चिकित्सकले सुझाएका छन् ।
काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका कुखुरा र टर्कीमा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि २ हजार बढी पन्छी नष्ट गरिएको छ । यसअघि नै छिमेकी मुलुक भारतमा बर्डफ्लु भेटिएपछि सीमा क्षेत्रमा कडाइ गरिएको थियो ।












