जनगणना २०७८ का लागि गणक र सुपरिवेक्षक पदमा भर्ना खुल्यो

११ माघ, काठमाण्डौ । जनगणना २०७८ का लागि सरकारले ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त गरेका जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ ।

केन्द्रीय तथ्यांक विभागले करारमा कर्मचारी भर्नाका लागि आजै दरखास्त आह्वान गरेको छ । साथै इच्छुक व्यक्तिले केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने पनि विभागले जनाएको छ ।

स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने छन् । भर्ना भने कुनै एक पदका लागि मात्र लिइने विभागले जनाएको छ ।

मध्यावधि निर्वाचनले जनगणना प्रभावित नहुने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविन लाल श्रेष्ठले बताउनुभयो । उहाँले जनगणनाका लागि चार अर्ब बजेट आएको र त्यसमध्ये दुई अर्ब चालु आर्थिक वर्षमा र बाँकी दुई अर्ब पछि खर्च हुने जानकारी दिनुभयो ।

[sidebar name="button post"]