केमिकल इन्जिनियर राजदास श्रेष्ठ : नेपालमा चुनढुङ्गाको अनुसन्धान गरेर सिमेन्ट उद्योगका लागि जग बसाल्ने व्यक्तित्व

समिता श्रेष्ठ

काठमाण्डौको शंखरापुरमा जन्मनुभएका राजदास श्रेष्ठ केमिकल इन्जिनियर हुनुहुन्छ । पेशा र अनुभवले इन्जिनियर भएपनि उहाँ अहिले कृषिमा तल्लीन हुनुहुन्छ । राजदास श्रेष्ठले सिमेन्ट जन्य पदार्थ, चुन उद्योग सम्बन्धी अनुसन्धान र नेपालमा उपलब्ध हुने विभिन्न कच्चापदार्थको आधारमा चुन, सिमेन्ट, इँट्टा, टायल जस्ता निर्माण सामग्रीको उत्पादनको सम्भाव्यताबारे अध्ययन अनुसन्धानमा दुई दशक बिताउनुभएको छ । तर अहिले उहाँको पेशा कृषि र पशुपालन जोडिएको छ ।

जन्म र अध्ययन

राजदास श्रेष्ठको जन्म २००९ बैशाख २० गतेसाउन महिनाको घण्टाकर्ण दिवसमा शंखरापुर नगरपालिका साँखुमा भएको हो । हाल उहाँको परिवारमा २ छोराहरु हुनुहुन्छ । छोराहरु रुसको मस्कोमा बसोबास गर्ने भएकाले श्रेष्ठ नेपालमा एक्लै बसोबास गर्नुहुन्छ । उहाँ कृषि र पशुपालनमा सकृय हुनुहुन्छ ।

आफ्नो बाल्यकालदेखि आजसम्मको जिवन यात्राबारे कागेश्वरी खबरसँगको कुराकानीमा उहाँ भन्नुहुन्छ :‘म ६/७ वर्षको हुँदा साँखुस्थित भाग्योदय स्कुलमा पढ्न जाने गर्थे । त्यस स्कुलमा १/२ कक्षासम्म अध्ययन गरे तर १० बर्षको हुँदा तीन कक्षामा फेल भएँ । फेल भएपछि लाज भयो । अनि स्कुल नै जान्न छोडें ।

त्यसबेला पण्डित खुरनाथ, साँखुमा संस्कृत विद्या प्राथमिक पाठशालामा पढाउने गर्नुहुन्थ्यो । म पनि त्यही पाठशालामा १० वर्षको उमेरदेखि पढ्न गएँ र ४/ ५ वर्ष संस्कृतको अध्ययन गरें । त्यहाँ मैले लघुसिद्वान्त, कौमुरिको साथसाथै हितोपदेश, अमरकोष र महाकवि कालिदासको रघुवंश महाकाब्य १५ वर्षको उमेरमा पूरा पढेर सकाएँ ।

त्यसपछि वेद पढ्ने ईच्छा प्रकट गर्दा पण्डित बाजेले नेवारको बच्चाले वेद पढ्नु हुँदैन भन्नुभयो । नेवार समुदायकै भएकाले संस्कृत पढेर दिर्घकालिन नहुने थाहा पाएपछि त्यसलाई बीचमै छोड्न बाध्य भएँ । त्यसपछि पद्मोदय हाई स्कुलमा भर्ना हुन खोजें । त्यो समयमा मलाई संस्कृत बाहेकका अन्य बिषयहरु जस्तै भूगोल, गणित,सामाजिक शिक्षा केही पनि नजानेको हुनाले भर्ना लिएनन् ।

भर्ना नलिएपछि पद्मोदयकै संस्थापक एवं अध्यापक मोहनप्रसाद मास्केको घरमा बसेर तीनदेखि ७/८ कक्षा सम्मका सबै पाठ्य पुस्तकहरु एक वर्ष लगाएर अध्ययन गरें । त्यसपछि अर्को वर्षमा ७कक्षामा भर्ना भए । संस्कृत पढ्दा घोक्ने बानी बसेको हुनाले मैले सबै पुस्तकहरु घोके रै सिध्याएँ । स्कुल भर्ना भएपछि ७ देखि १० कक्षा पढ्न मलाई निकै सजिलो भयो । त्यसैले गर्दा सबै परीक्षाहरुमा प्रथम हुँदै थुप्रै पुस्तक, कापिहरु पुरस्कारको रुपमा प्राप्त गर्न सफल भएँ ।

मैले पद्मोदय स्कुलबाटै चौंथो स्थान हाँसिल गर्दै एसएलसी उत्तिर्ण गरें । त्यस बेला एसएलसी परीक्षामा बोर्डमा पर्न सफल १० जना विद्यार्थीहरुलाई महेन्द्र रत्न पुरस्कार दिने चलन थियो । त्यहाँबाट मैले पनि दुई वर्षसम्म आई एस्सी (अहिलेको प्लस टु ) पढ्नको लागि महिनाको एक सय रुपैयाँ पुरस्कार (छात्रवृत्ति) पाएँ ।

मैंले त्यो छात्रवृत्तिबाट लैनचौरस्थित अमृत साईन्स कलेजमा तीनवर्ष पढे र प्रथम श्रेणीमा उत्तीर्ण गरें। त्यसबेला प्रथम श्रेणीमा आई एस्सी उत्तीर्ण गरेपछि सोभियत संघबाट उच्च शिक्षाको लागि छात्रवृत्ति पाएँ । त्यसपछि सन् १९६९ साल अगस्ट महिनामा उच्च शिक्षाको लागि सोभियत संघमा गएँ । मैले त्यहाँ ६ (एक वर्ष त्यहाँको भाषा सहित) वर्ष अध्ययन गरेर केमिकल इन्जिनियरिङ्गमा डिग्री हाँसिल गर्नुका साथै सोभियत नागरिक भालेन्टिना श्रेष्ठसँग सन् १९७१ मा बिहे गरें । अहिले दुई छोराहरु छन् । त्यसपछि सन् १८७६ मा हामी ४ जना नेपाल फर्किऔं ।’

नेपालमा सिमेन्ट उद्योगका सञ्चालनका लागि जग बसाल्ने काम

भालेन्टिना श्रेष्ठ पनि राजदास जस्तै केमीकल इञ्जिनियर नै हो । उहाँ ग्लास अर्थात् सिसाबारेको टेक्नोलोजी र राजदास सिमेन्ट टेक्नोलोजीको क्षेत्रमा हुनुहुन्छ । नेपाल आएपछि राजदासले लैनचौरमा रहेको खानी तथा भुगर्भ विभागमा प्राविधिक अनुसन्धान अधिकृतको रुपमा जागिर खानुभयो ।

त्यहाँ काम गर्दा नेपालको विभिन्न ठाउँमा पाउने चुन ढुङ्गाहरुको अध्ययन अनुसन्धान पनि गर्नुभयो । विषय नै चुन ढुङ्गाबाट सिमेन्ट निकाल्ने र चुन उत्पादन गर्ने थियो । त्यस अनुसन्धान कार्यको शिलशिलामा नेपालमा भएको चुन ढुङ्गा खानी मध्ये सबैभन्दा राम्रो र सबैभन्दा ठुलो चुन ढुङ्गा नेपालको पूर्वी भागको उदयपुर जिल्लामा भेटीयो ।

त्यहाँको चुन ढुङ्गाबाट गुणस्तरीय चुन र सिमेन्ट उत्पादन हुने सक्ने रिपोर्ट दिएपछि विस्तारै नेपालमा सिमेन्ट उद्योगको विकास हुन थाल्यो । त्यही रिपोर्टको आधारमा उदयपुर सिमेन्ट कारखाना सञ्चालन भैरहेको छ । त्यो सिमेन्ट कारखानालाई सम्झदा आज पनि गर्व लाग्ने राजदास बताउनुहुन्छ । त्यस्तै खानी विभागमा नै काम गर्दा धादिङ जिल्लाको जोगिमारा भने ठाउँमा उच्च गुणस्तरको चुन ढुङ्गा फेला पर्यो । अनि त्यहाँ २/३ वटा चुनका भट्टिहरु बनाएर चुन उत्पादन पनि भयो ।

यसरी खानी विभागमा नै काम गर्दागर्दै उहाँले नेपालमा चुन उद्योग र सिमेन्ट उद्योग संचालनको लागि महत्त्वपूर्ण योगदान दिनुभयो । तर खानी विभागमा काम गर्दा चार जनाको परिवार पाल्न हम्मेहम्मे भएको राजदास बताउनुहुन्छ । ‘त्यो खानीको जागिरबाट प्रति महिना सात सय पचास रुपैयाँ पाउने गर्थें । त्यसमाथी म साँखु निवासी भएकोले काठमाण्डौमा भाडामा बस्नुपर्थो र सात सय रुपैयाँ त डेरा बाहाल नै तिर्नु पर्थो । त्यसैले खानी विभागको जागीर छोडें ।

खानी विभागको जागिर छोडेर त्रिभुवन विश्वविद्यालयमा

अनि त्रिभुवन विश्वविद्यालयमा व्यवहारिक विज्ञान तथा अनुसन्धान केन्द्रमा काम सुरु गरें । त्यहाँ म र मेरो श्रीमती भालेन्टिना दुवैले जागिर पाएको भएर खानी विभागको जागीर छोडेको हुँ । सुरुमा खानी विभागमा पनि भालेन्टिना र मैलै जागीर खान खोजेका थियौं । तर उनी बिदेशी नागरिक भएको कारणले सरकारी जागीर खान नपाउने भएकोले त्यहाँ मिलेको थिएन ।

त्यसै कारण दुवै त्रिभुवन विश्वविद्यालय आयौं । त्यहाँ पनि मेरो काम नेपालमा उपलब्ध हुने विभिन्न कच्चापदार्थको आधारमा चुन, सिमेन्ट, इँट्टा, टायल जस्ता निर्माण सामग्रीको उत्पादनको सम्भाव्यताबारे अध्ययन अनुसन्धान गर्ने र यथासम्भव ती कच्चा पदार्थ संकलन गरेर ल्याउने एवं प्रयोगशालामा तिनीहरुको आवश्यक प्रसोधन गरि केही सम्भाव्य निर्माण सामग्रीको नमूना उत्पादन गर्ने थियो । हामी दुवै एउटै अफिसमा एउटै शाखामा भएपनि उहाँले नेपालमा सिसाको उत्पादन सम्बन्धी काम गर्नुहुन्थ्यो भने म चुन र सिमेन्टको विकल्प पदार्थको अनुसन्धानमा व्यस्त थिएँ ।’

उहाँ अगाडि भन्नुहुन्छ,‘अनुसन्धान कार्यको सिलसिलामा भुसको खरानी र नेपालमै पाइने चुन प्रयोग गरी एक सिमेन्ट पदार्थ निकाल्न सफल भएँ र त्यो सिमेन्ट “भुसे सिमेन्ट” को नामले प्रख्यात भयो । खास यसरी खरानीजन्य पदार्थ र चुनबाट सिमेन्ट पदार्थ बन्ने प्रविधि नौलो मात्र होइन कि बरु यो प्रविधि धेरै समय अघि रोमनहरुले अपनाएका थिए । हजारौँ वर्ष पहिले । अनि भालेन्टिनाले पनि हेटौंडाको कर्रा खोलामा पाइने बालुवाबाट सिसा उत्पादन हुन सक्ने कुरा प्रमाणित गर्नुभयो ।

मैले पनि जोगिमारा, उदयपुर सहित अन्य विभिन्न स्थानमा पाइने चुन ढुङ्गाबाट उच्च कोटिको चुन उत्पादन गर्न सकिने र सिमेन्ट पनि प्रचुर मात्रामा उत्पादन गर्न सकिन्छ भने रिपोर्टहरु तयार पारेँ । त्यसैको अनुसन्धान र रिपोर्टहरुको आधारमा अहिले नेपालमा ठुला–ठुला उद्योगहरु संचालन भैरहेका छन् । आफैंलाई गर्व लाग्छ ।’

त्रिभुवन विश्वविद्यालयमा काम गर्दागर्दै त्यसबेला तत्कालीन राजा बिरेन्द्र सरकारको मध्यमाञ्चल विकास क्षेत्रमा भ्रमण थियो । त्यस बेला बिरेन्द्र सरकार त्रिभुवन विश्वबिद्यालयमा आएर अफिस भित्र पसेर मैले गरिरहेको कामको बारेमा जिज्ञासा राख्नु भयो । अनि मैंले पनि मेरो अनुसन्धानबाट पत्ता लागेको नेपालको सम्भावना भएको उद्योगहरुबारे बिस्तृत विवरण गरिदिएँ ।

नेपालमा चुन,सिमेन्टको प्रचुर मात्रामा उत्पादन हुन सक्छ भने अनुसन्धानसँग सम्बन्धित कुराहरु र त्यही अनुसन्धानको आधारमा थुप्रै २०/२२ वटा सिमेन्ट उद्योगहरु पनि स्थापना गर्न सक्ने सम्भावना रहेको जानकारी सरकारसँग जाहेर गरें । यसै बिषयसंग सम्बन्धित भएर मैले राजा बिरेन्द्र सरकारसँग बसेर आधा घण्टा जति कुरा गरे । सरकारको भ्रमण पश्चात मेरो अनुसन्धानको बारेमा बृहत रुपमा चर्चा परिचर्चा पनि भयो ।

यसबाट खुशी भएर सरकारले शिक्षा मन्त्रालयबाट ‘शिक्षा पुरस्कार’ पनि दियो । त्यसपछि जर्मन, अमेरिकाबाट नेपालको बिकासका लागि के कस्ता बिकास परियोजनाहरु भैराखेको छ भन्ने जिज्ञासा राख्न संयुक्त राष्ट्र संघबाट (युनेस्को)बाट मान्छेहरु आउनु भयो ।

काम हेरेर युनेस्को प्रतिनिधिले तिमी अफ्रिकी देश बोस्वानामा स्वंयमसेवकको रुपमा काम गर्न जान्छौ भनेर प्रस्ताव राख्नु भयो र मैले स्वीकार गरेँ । त्यही अनुसार मैले सन् १९८३ मा संयुक्त राष्ट्र संघको भोलिन्टियर भएर दक्षिण अफ्रिकाको बोस्वानामा स्वंयमसेवकको रुपमा गएँ ।

त्यहाँ मैले प्रोजेक्ट म्यानेजरको रुपमा सन् १९८३ देखि सन् १९८५ सम्म दुई वर्ष काम गरें । त्यहाँ पनि चुन उत्पादन गर्ने उद्योग, सिमेन्ट उत्पादन गर्ने उद्योग, खरी ढुङ्गा उत्पादन गर्ने उद्योग, रङ्गरोङ्गन उत्पादन गर्ने उद्योग, समेन्टको विकल्प पदार्थ निकाल्ने, माटोबाट इँट्टा उत्पादन गर्ने जस्ता ५/६ वटा घरेलु उद्योगहरुको स्थापना गर्ने भूमिका खेलें । त्यहाँ २० लाख डलर जति अन्तरास्ट्रिय संघ संस्थाबाट पैसा संकलन गरेर एउटा गाउँको बिकास निर्माणको काममा लगाई दिएँ।

त्यसबाट त्यहाँका राष्ट्रपती धेरै खुशी भएर मलाई संयुक्त राष्ट्र संघको भोलिन्टियरबाट युनिडोको चिफ इन्जिनियरको रुपमा पदोन्नति गरिदिनुभयो । म भोलिन्टरको रुपमा काम गर्दा पाँच सय डलर आउने गर्थो भने चिफ इन्जिनियर भए पछि पाँच हजार डलर आउने भयो । त्यो पनि अन्तराष्ट्रिय स्तरको डिप्लोमाटिक सेवा सुबिधा सहित ।

तर सन् १९८५ मा सडक दुर्घटनामा परेर श्रीमती भालेन्टिना श्रेष्ठको निधन भयो । म पनि ३/४ महिना बिरामी भएर हस्पिटलमा बसें । त्यसपछि म दुई छोराहरुलाई लिएर नेपाल फर्कें र एक वर्ष नेपाल बसें । एक वर्षपछि फेरि मलाई अफ्रिकाको बोस्वानामा बोलायो । फेरी बोस्वानामा गएर २÷३ वर्ष बसेर आफ्नो सबै प्रोजेक्टहरु सकाएर नेपाल फर्कें ।’

आर्थिक अवस्थामा फड्को

बोस्वानामा चिफ इन्जिनियर भएर काम गर्दा र अन्य सुबिधाहरुबाट एक डेढ करोड जति जम्मा गरेर नेपालमा ल्याउन सफल भएको राजदास बताउनुहुन्छ । त्यसबाट उहाँले कोटेश्वरमा जग्गा किन्नुभयो, घर बनाउनुभयो र एउटा रङ्गरोगन उत्पादन गर्ने उद्योग पनि खोल्नुभयो । त्यहाँ रङ्गरोगन उत्पादन गर्नको लागि धादिङ जिल्लामा चुन उत्पादन गर्ने कारखाना बनाउनुभयो । अनि थानकोटमा त्यो चुन प्रशोधन गर्ने चुन पेल्ने उद्योग खडा गरेर र त्यो प्रशोधित चुनबाट रङरोगन, सिमेन्ट, रंगिन चुन बनाउने काम कोटेश्वरमा भयो । त्यो सुरुको दिनहरुमा निकै फस्टायो ।

त्यो उद्योग सन् १९९० देखि २००० सम्म जम्मा १० वर्ष सञ्चालन भयो । बजार र बिजनेस बढेपनि उद्योगमा एक्लै इन्जिनियर, संचालक भएर काम गर्दै गर्दा नभ्याएर फाइनेसली कन्टोल गर्न नसकेको उहाँ बताउनुहुन्छ । त्यो उद्योग,घर जग्गा सबै बेचेर त्यो उद्योगमा लागेको ऋण तिरेको राजदास बताउनुहुन्छ । त्यसपछि देशको उन्नतिमा कृषिले टेवा पुग्ने मनसाय बनाएर च्याउ खेती सम्बन्धि तालीम लिएर च्याउ खेती तिर लागें । यसरी मेरो कृषि यात्रा सुरु भयो ।

राजदास श्रेष्ठको कृषि यात्रा अर्को अंकमा ……

[sidebar name="button post"]