सरोज कार्की
१० माघ, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसिया गई उतै निधन भएका १७ जना नेपालीको शव शनिबार काठमाडौं ल्याइएको छ। शनिबार बिहान राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याएकाे हाे ।

शव लिन शुक्रबार उक्त विमान मलेसिया गएको थियो। नेपाल एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याइएको जनाएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर त्यहाँ अलपत्र अवस्थामा थिए। शव ल्याउन नसकिएका ५ जनाको भने अस्तु मात्रै ल्याइएको छ। शव बुझ्न गएका आफन्तको रुवाबासीले बिहान विमानस्थलको वातावरण भावुक बनेको थियो।

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्यु भएर त्यहाँ अलपत्र अवस्थामा थिए । मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याइएकाे निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।

तेसाे त,निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको शव लिनकै लागि निगमले वाइडबडी जहाज प्रयोग गर्न लागेको हो । वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ ।

निगमले दुई वर्षअघि अफगानिस्तानबाट पनि नेपालीको शव ल्याएको थियो । निगमले कोभिड–१९ महामारीको सङ्क्रमणमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध गरिएको अवस्थामा पनि उद्धार उडान तथा कोभिडका औषधिजन्य सामग्री ल्याउन महत्वपूर्ण भूमिका खेलेको थियो । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।
















