९ माघ, काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट भोलि शनिबार एउटै जहाजबाट १७ वटा शव नेपाल ल्याइने भएको छ । नेपाल वायुसेवा निगमले यस प्रयोजनका लागि वाइडबडी जहाज ए ३३० क्वालालाम्पुर पाठाउन लागेको हो । जहाज आज राती ११ बजे क्वालालाम्पुर उड्ने छ । जहाजमा २५० हाराहारी यात्रु समेत फर्कनेछन् ।
मलेसियाबाट सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिँदा नेपाल ल्याउनु पर्ने शवहरु उतै अड्किएका थिए । नेपाल एयरलाइन्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन लागेको नेपाल एयरलाइन्सले जनाएको छ ।
जहाज शनिबार बिहान ८ः४० बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने क्रममा भने १२ जना यात्रु मात्र रहनेछन् । विदेशमा समस्यामा परेका नेपाली होस वा ज्यान गुमाएका नेपालीहरुको शव ल्याउने क्रममा ध्वजबाहक कम्पनीका रुपमा नेपाल एयरलाइन्सले उडान गर्दै आएको छ ।









