८ माघ, काठमाण्डौ । भारतले प्रयोगका लागि अनुमति दिएको ‘कोभिशिल्ड’ खोप नेपाल ल्याइएको हो । यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय, बेलायतमै रहेको बहुराष्ट्रिय कम्पनी अष्ट्रजेनिका र भारतको सेरम कम्पनीले संयुक्त रुपमा उत्पादन गरेका हुन् । सेरम विश्वमा धेरै खोप उत्पादन गर्नेमध्येको एक ठूलो कम्पनी हो । अहिले तेस्रो चरणमा परीक्षणकै क्रममा रहेको यो खोप आपतकालिन प्रयोगका लागि नेपाल ल्याइएको हो ।
यद्यपि परीक्षणका सबै चरणहरू पार गरी नसकेका कारण यो खोपले सबैलाई सकारात्मक नतिजा दिन्छ भन्ने छैन । केहीलाई यसको असर समेत देखिन सक्ने विज्ञहरूको भनाई छ । भारतमा पनि खोप लगाएका व्यक्तिहरूमा प्रतिकुल असर देखिएकै कारण उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो ।‘भारतबाट ल्याइएको खोप परीक्षण (ट्रायल) फेजमै छ । परीक्षणमै रहेका कारण खोपले केहीलाई असर पनि गर्न सक्ने सरुवा रोग विज्ञ डा.बाबुराम मरासिनीले बताउनु भयो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालिन प्रयोगका लागि कोभिड–१९ खोपको अनुमति दिएपछि विज्ञहरूले यसको ‘साइड इफेक्ट’ भयानक हुने चेतावनी दिएका थिए । तर अहिलेसम्म भारतमा त्यस्तो भयानक प्रतिकुल असर भने देखिएको छैन । सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुन भारतबाट ल्याइएको खोपमा ठूलो साइड इफेक्ट नभएको बताउनु भयो । प्रारम्भिक परीक्षणको चरणमा सफल र प्रभावकारी देखिएकाले खोप प्रयोगका लागि अनुमति दिएको डा. पुनले बताउनुभयो ।
भारतमा उत्पादन लगत्तै परीक्षण गर्दा सफल भएपछि नै यो खोप प्रयोगका लागि अनुमति दिइएको हो डा. पुनले जानकारी दिनुभयो। सरकारले भारतबाट ल्याएको शुरुको १० लाख डोज कोभिड–१९ खोप ‘फ्रन्टलाइनर’ (चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवी, अस्पतालमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी लगायतलाई) लाई लगाउने बताएको छ । खोप आउने बित्तिकै चिकित्सकलाई नै पहिले खोप दिने भएपछि स्वास्थ्यकर्मी केही उत्साहित पनि छन् ।
भारतले अन्य मुलुकसँग प्रतिस्पर्धामा उत्रिनका लागि पनि पर्याप्त परीक्षणका चरण पार नगरेरै कोभिड–१९ खोप प्रयोगका लागि अनुमति दिएको हो । दक्षिण एसियामा ‘खोप कूटनीति’ बलियो बनाउन आपतकालिन प्रयोगका लागि भएपनि भारतले तत्कालै नेपाल लगायत छिमेकी मुलुकलाई खोप उपलब्ध गराएको छ ।
तुलनात्मक रुपमा चीनले भन्दा पहिले नेपाललाई खोप दिएको भारतले दक्षिण एसियामा आफ्नो प्रभुत्व कायम राख्न पनि परीक्षण चरणकै कोभिड–१९ खोप उपलब्ध गराएको बुझाई विज्ञहरूको छ ।
परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा नै भारतले खोप उपलब्ध गराउने जनाएको थियो ।












