Ad #144479

समिता श्रेष्ठ

काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ७ जोरपाटी दक्षिणढोकामा बालगृह छ । दुर्गा मैनाली बुद्धिष्ट बालगृहकी संस्थापक हुनुहुन्छ । अनि बालगृह महासंघको केन्द्रिय अध्यक्ष मैनालीले अरु बालगृहको निगरानी पनि गर्नुहुन्छ । मैनाली बालबालिकाको आमा मात्रै होइन पौरखी महिला हुनुहुन्छ ।

जुत्ता÷चप्पल, अचार बनाउने, मास्क, धुप, सपिङ झोला बनाउने जस्ता व्यवसाय पनि छ । महिला भएर महिलाहरुलाई रोजगार पनि दिंदै हुनुहुन्छ । जहाँ अभाव हुन्छ त्यहाँ मैनाली एउटा अभिभावक नै बन्नुहुन्छ । उहाँ सहकारीको अध्यक्षदेखि हरेक कर्ममा क्रियाशिल हुनुहुन्छ ।

परिचय : जन्म, परिवार र अध्ययन

मैनालीको जन्म २०२६ साल पुष २२ गते झापाको महारानी झोडा भने ठाउँमा भएको हो । अहिले उहाँका श्रीमान् र छोरी हुनुहुन्छ । उहाँ चार दिदीबहिनीमध्ये जेठी हुनुहुन्छ । तर मैनालीको ३६ जनाको परिवार छ । उहाँले पद्मकन्या कलेजबाट समाजशास्त्र बिषयमा स्नातकसम्म अध्ययन गर्नुभएको छ । अहिले उहाँ समाज सेवामा हुनुहुन्छ ।

‘मेरो बाल्यकाल सामान्य नै बित्यो ।’ उहाँ भन्नुहुन्छ,‘पढ्नका लागि काठमाण्डौ आएका बेला बाटैमा बालिका देखें , त्यहि बालिकाबाट सेवाभाव उत्पन्न भयो । समाज सेवामा २०४८ सालदेखि सक्रिय छु ।’

बुद्धिष्ट बाल गृहको स्थापना

एउटा बालिका रेखदेखबाट सुरु भएको उहाँको कर्ममा अरु छोराछोरीहरु पनि भेट हुँदै गए । त्यसपछि २०५४ सालसम्म १४ जना छोराछोरीहरु भए । अनि बल्ल उनीहरुका लागि नाम जुर्यो । बुद्धिष्ट बाल गृह नाम राखेर संस्था दर्ता भयो । अहिले उहाँसँगै २० जना छोराछोरी हुनुहुन्छ नजिकै बस्ने अरु १६ जना हुनुहुन्छ । अहिलेसम्म एक सय तीस जना भन्दा बढी छोराछोरी पुर्नस्थापना भैसकेका छन् ।

‘एक जना छोरीबाटै प्रेरित भएर संस्था स्थापना गरेको हो ।’ मैनाली भन्नुहुन्छ,‘हाल यस बालगृहमा २ बर्षदेखि २० बर्ष सम्मका छोराछोरी हुनुहुन्छ । हरेक कामको सुरुवात संघर्षबाटै हुने गर्छ । संस्था जन्माउनु मात्रै ठुलो कुरा होईन । त्यसलाई निरन्तरता दिनु नै ठुलो कुरा हो । संस्थाको सुरुवातदेखि आजसम्म आइपुग्दा धेरै कामहरू गरियो । सानोसानो छोराछोरी राख्ने, पाल्ने जस्ता कुरामा संघर्ष गर्नुपर्यो । जहाँ अभाव हुन्छ, त्यहाँ सिर्जना हुने गर्दछ भन्ने कुरामा म विश्वास गर्छु ।’

आफ्नै सिर्जनशीलता र नेपाली सहयोगबाट संचालित संस्था

छोराछोरी हुर्काउन सहकारी र समुह छ । जसबाट कर्जा लगानीको एक प्रतिशत र मुनाफाको एक प्रतिशत बालगृहका लागि छुट्याउने गरिन्छ । साथसाथै २०५५ सालदेखी जोरपाटीमा एक घर एक सय एक अभियान सुरु भयो । अहिले एक ब्यक्ति एक सय एक जस्तो भएको छ । हजार जना जोडिनुभएको छ । अनि उहाँहरुले एक सय एक भन्दा पनि धेरै दिने गर्नुहुन्छ ।

त्यसै गरि महिलाहरुलाई पनि रोजगारी हुने र बालबालिकाहरुको लागि पनि खर्च हुने गरि अचार, जुत्ता–चप्पल, झोला, धुप बनाउने जस्ता कामहरू पनि हुन्छ । जहाँ अभावको महशुस हुन्छ । त्यहाँबाट नयाँ सिर्जना हुन्छ । ‘बालगृहमा आजका दिनसम्म कुनै पनि बिदेशी सहयोग छैन’ मैनाली भन्नुहुन्छ,‘हाम्रो सामानहरु हामी बजारमा बिक्री वितरण गर्ने गर्छौं ।

छोराछोरीको लागि एक दिनको खान खुवाउने गरेर कुनै पनि पुण्य तिथीमा आगन्तुकहरु आउने गर्नुहुन्छ । यसरी नै हाम्रो सेवा निरन्तर रुपमा चलिरहेको छ । सबै जनाको मन जितेर साथ, सहयोगबाट छोराछोरीहरुलाई दुख भन्दा पनि आनन्दै आनन्दका साथ हुर्काउदैँ छौँ । एउटा बच्चा हुर्काउन कति धेरै गाह्रो हुन्छ । त्यसमाथि यति धेरै, कल्पना नै गर्न सकिंदैन । तर यो काम गर्दा मलाई गाह्रो भन्दा पनि आनन्द आउने गर्छ ।’

बुद्धिष्ट बाल गृहसंगै अन्य कामहरू

मैनाली बुद्धिष्ट बाल गृहमा मात्रै नभएर बालगृह महासंघको केन्द्रिय अध्यक्ष, ज्योती बहुउद्देश्यीय सहकारीको अध्यक्ष, नयाँ छोरी उद्ययमशिलता नेपालको प्रमुख, साथै समूहहरुमा पनि आवद्ध हुनुहुन्छ । यी संस्थाहरुबाट समय मिलेको बेला लेख्ने पनि काम गर्नुहुन्छ । त्यसबाहेक लेख्ने काम पनि गर्ने उहाँको नयाँ छोरी पुस्तक बजारमा आईसकेको छ । अर्को ल्याउने तयारीमा रहेको उहाँ बताउनुहुन्छ । यो किताबमा छोरीको कथा ब्यथाका कुराहरु छन् ।

यो बालगृह संचालन गरेपछि सबैभन्दा पहिले सिर्जना गरेको काम डल्लो साबुन बनाउने हो । त्यसपछि मैनबत्ति बनाउने र अरु कामहरु पोते बुन्ने, धूप बनाउने, जुत्ता चप्पल बनाउने विभिन्न कामहरु थपिए । आफ्नै व्यापार व्यवसाय संचालन गर्ने धेरै महिलाहरु हुनुहुन्छ । साथै संस्थासंगै जोडिएर प्रत्यक्ष काम गर्ने २५ जना हुनुहुन्छ ।

सहयोग, साथ र हातेमालोको खाँचो छ : मैनाली

मैनालीका अनुसार जो कसैले संस्थाको अवलोकन गर्न सक्नुहुन्छ । त्यहाँका उत्पादनहरुलाई किनेर पनि सहयोग गर्न सक्नुहुन्छ । ‘यो संस्था स्थापना गर्दा ७ जनाबाट सुरुवात गरे पनि अहिले हजार जना सहयात्री हुनुहुन्छ । निस्वार्थ भावनाले सेवा गरेर मन जित्न सक्यौं भने नै हातेमालो गर्ने हात र साथ जोडिंदै आउने हो ।’ उहाँ भन्नुहुन्छ,‘सेवामा स्वार्थ हुनु हुँदैन ।’

समाजसेवा मनबाट गर्नुपर्छ । सेवालाई व्यापारको रुपमा कोहि कसैले प्रयोग गर्नु नहुँनेमा उहाँको जोड छ । बुद्धिष्ट बाल गृह तथा अरु सेवा र सहयोगका लागि ९८५१०९७०५८ मा सम्पर्क गर्न सक्नुहुन्छ ।