२ माघ, काठमाडौं । बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले दुई देशबीच कूटनीतिक, जनताजनताबीचको सम्बन्ध, शिक्षा, स्वास्थ्य, व्यापार, यातायात ‘हवाई सडक’ सम्बन्ध बढाउने काम भइरहेको बताएका छन् । नेपाल बङ्गलादेश मैत्री संघको आयोजनामा नेपाल बङ्गलादेश सम्बन्ध र व्यापार विषयमा भएको भर्चुअल मिटिङमा उनले काठमाडौं– ढाका बस सेवा तथा विराटनगर–बङ्गलादेश हवाई सेवा चाँडै शुरु गरिने जानकारी दिए ।
बङ्गलादेशका प्रा शेख महमुन्द एलोनले शिक्षा र स्वास्थ्यको विकासमा दुवै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । डा. जहरुल इस्लामले नेपाली विद्यार्थी मेहनती र इमान्दार रहेको जनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपाललाई लगानी बढाउन सुझाव दिए । प्रा डा अब्दुस सत्तरले दुई देशले भारतसँगको पनि सम्बन्ध अघि बढाएमा यातायात, कृषि, ढुवानी, वातावरणलगायत विषयमा सहज हुने विश्वास व्यक्त गरे ।
डा. इफ्तेखारुल हकले दुवै देशबीचको सम्बन्ध विकास व्यावहारिक रुपमा हुनुपर्ने बताए । डा. के शेल्लीले महिला अधिकार र गरीबी उन्मूलनमा दुवै देशले सहकार्य गर्नुपर्नेमा जोड दिए । मैत्री संघका अध्यक्ष दीनदया रिजाल र संघका बङ्गलादेश च्याप्टरका संयोजक इम्दादुल तैय्यव हकले सरकार, कूटनीतिक र जनता जनताबीचको सम्बन्ध, पर्यटन अभिवृद्धि तथा साहित्य, कला र संस्कृतिको विकासमा दुवै देशबीच आदानप्रदान गर्नुपर्ने सुझाव दिए ।
संघका सल्लाहकार धर्मराज बरालले एकार्काले आआफ्ना धर्म, कला र संस्कृतिको सम्मान गर्नुपर्ने विचार व्यक्त गरे । बिहीबार साँझ भएको बैठकमा साहित्यकार तथा समाजसेवी भक्तराज रञ्जितले साहित्य एवं कलाको आदानप्रदान गर्दै दुवै देशका जनता जागृत भई लाग्नुपर्ने धारणा राखे ।












