बाँझोपन के हो ? कसरी हुन्छ, यसका लक्षणहरु

एजेन्सी । बाँझोपनलाई हाम्रो समाजमा नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ। महिलाको बाँझोपनलाई त समाजबाटै तिरस्कार गर्न खोजिन्छ। महिलाको बाँझोपनलाई समाजको अगाडि उभ्याउने र पुरुषको बाँझोपनलाई नजरअन्दाज गरेको पनि भेटिन्छ।

बाँझोपन महिलामा मात्रै हुने समस्या हो भन्ने धारणासमेत विद्यमान छ। यसकै कारण महिलाहरू घरेलु हिंसाको शिकार बन्न पुग्छन्। जबकि बाँझोपनको समस्या महिला र पुरुष दुवैमा बराबर मात्रामा हुन्छ। बाँझोपनको समस्या र यसबाट मुक्त हुन श्रीमान तथा श्रीमती दुवै जनाको भूमिका उत्तिकै रहन्छ।

पुरुषमा: पुरुषमा वीर्य उत्पादनमा कमी हुँदा वा नहुँदा, अत्यधिक लागुपदार्थ सेवन गर्दा, सम्भोगमा करिब दुई एमएल वीर्य स्खलन नहुँदा पनि बाँझोपनको समस्या आउन सक्छ । सामान्यतया स्वस्थ व्यक्तिको वीर्यमा शुक्राणुको संख्या चार करोडदेखि १० करोडसम्म हुन्छ । कुल शुक्राणुमध्ये करिब ३५ प्रतिशत शुक्राणुको बनावट गर्भाधान गर्न योग्य हुन्छ । त्यसैले शुक्राणुको मात्रा कम देखिएमा पनि यस्तो समस्या आउन सक्छ ।

महिलामा: प्रजनन अंग पूर्ण रूपमा विकसित नहुँदा, डिम्बबाहिनी नली अर्थात् फोलिपियन ट्युबमा अवरोध सिर्जना हुँदा, पाठेघरमा घाउ भएमा, श्वेतप्रदर (ल्युरोकोरिया), गर्भाशयमा ग्रिवा सोथ, डिम्बाशयमा सिस्ट हुँदा बाँझोपनको समस्या निम्तिन सक्छ । डिम्ब निष्कासन नहुँदा, थाइराइड ग्रन्थिको हर्मोनमा समस्या देखिँदा, शारीरिक एवं मानसिक तनावलगायतका कारणले पनि महिलामा बाँझोपनको अवस्था निम्तिन्छ ।

कारण

  • जन्मजात पाठेघरको विकास नहुनु
  • डिम्बवाहिनी नली बन्द हुनु । जसमा क्षयरोग एउटा मुख्य कारक हो। यस्तो इन्फेक्सनले शुक्रकिटको गतिविधिमा पनि पनि आउँछ र भ्रुण बस्न गाह्रो हुन्छ।
  • पाठेघरको संक्रमण।यौन सम्पर्कबाट सर्ने रोग, क्ल्यामाइदिया, गोनोरहिया जस्ता संक्रमणले गर्दा पाठेघर, डिम्बवाहिनी नलीका इन्फेकसन तथा इन्फ्लामेसन हुन्छ अनि डिम्बवाहिनी नली बन्द हुन जान्छ।
  • पाठेघरको ट्युमर्स । पोलिप र फाइब्रोइद जस्ता ट्युमरले बच्चा बस्न दिँदैन अनि बाँझोपन हुन जान्छ।
    महिलाको बढ्दो उमेर । ३५ वर्ष माथिका महिलामा डिम्ब कम हुँदै जान्छ, जसका कारण बाँझोपनको समस्या देखापर्न जान्छ।
  • गर्भपतन । पहिलो शिशु नजन्माई गर्भपतन गराउनु अथवा बारम्बार गर्भपतन गराउनु, जसले गर्दा पाठेघर पातलो हुन जान्छ र पाठेघरको भित्ता एक–अर्कासँग टाँसिन जान्छ।

लक्षण

  • योनिबाट नियमित रूपमा सेतो पानी बग्नु ।
  • सम्भोगका वेला पीडा महसुस हुनु, रुचि घटेर जानु ।
  • अनियमित रूपले महिनावारी हुनु ।
  • महिनावारी हुने समय अत्यधिक रूपमा तल्लो पेट र कम्मरको भाग दुख्नुका साथै कालो र ढिक्का–ढिक्का रगत बग्नु ।

बाँझोपनको उपचार

  • शल्यक्रिया, ल्याप्रोस्कोपिक : यदि बाँझोपनको कारक पाठेघर, डिम्बासयको ट्युमर भएमा त्यसलाई ल्याप्रोस्कोपिक प्रविधिद्वारा निकाल्न मिल्छ।
  • निःसन्तान दम्पतिलाई डाक्टर स्वयंले परामर्श र काउन्सेलिङ प्रदान गर्नुपर्छ। आवश्यक परेको अवस्थामा निःसन्तान दम्पतिको घर–परिवार सहितलाई पनि काउन्सेल्लिङ गर्नुपर्ने हुन्छ।
  • औषधि पद्धतिद्वारा उपचार र मेडिकल थेरापी : महिलामा अन्डाको मात्रा बढाउन र ओभुलेसन गराउन गोनाडोत्रोफिन औषधि प्रयोग गरिन्छ जसले केही मात्रामा बाँझोपन कम गर्न सहयोग पुर्‍याउँछ। त्यसैगरी पुरुषको निम्ति केही प्रकारका औषधि उपलब्ध छन् जस्ले शुक्रकिटको मात्रा बढाउन मद्दत गर्दछ (ऐन्टी अक्सिडेन्ट, भिटामिन)।
  • आइयुआई भन्नाले पुरुषको विर्यलाई चालेर महिलाको पाठेघरमा सिधै राख्ने प्रक्रिया हो। यो करिब २० प्रतिसतमा सफल हुन्छ र ४–६ पटकसम्म गर्न सकिन्छ। आइभिएफ प्रविधिमा महिलाको डिम्बासयबाट डिम्बलाई अलग गरी शरीर बाहिर ल्याबमा पुरुषको शुक्रकिटसँग निषेचित (फर्टिलाइज) गरिन्छ। त्यसपछि तयार भएकोे भ्रुणलाई महिलाको पाठेघरमा प्रत्यारोपित गरिन्छ।
[sidebar name="button post"]