Ad #144479

१ माघ, काठमाडौं । माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वर गाउँपालिका–३, तारुकामा गोरु जुधाइएको छ । गोरु जुधाउन फाँटमा लैजाने वेला एउटा गोरु भीडतिर भागेपछि दर्शकको भागाभाग भएको थियो । त्यसक्रममा तीन जना घाइते समेत भएका छन् ।

तारुकामा हरेक वर्ष माघे संक्रान्तिका दिन गोरु जुधाउने गरिन्छ । गोरु जुधाइ हेर्ने धादिङ, काठमाडौं, चितवनलगायतका ठाउँबाट समेत दर्शक गएका थिए । यसवर्ष नुवाकोटका तीन स्थानमा गरी ४५ हल गोरु जुधाएकाे हाे । तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीमा २२ हल, विदुर-१० नेत्रावतिमा १५ हल र पञ्चकन्या गाउँपालिका-३ मा ८ हल गोरु जुधाइएकाे हाे ।

नुवाकोटको मात्रै नभई सिंगो नेपालकै पहिचान बनेको ऐतिहासिक गोरु जुधाई  यस वर्ष बिहान १० बजेदेखि सुरु भएको हाे । तारकेश्वर गाउँपालिका वडा नं ३, चन्दनीमा गोरु जुधाइ मेला सफल गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ।

मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने छ। नुवाकोटको तारुकामा माघे संक्रान्तिको दिन सदियौदेखि गोरु जुधाइदै आएको छ।