Ad #144479

एजेन्सी । तपाईँको घर वा छिमेकमा परिवारका अन्य सदस्यले खाना खाइसकेपछि अन्तिममा मात्र बुहारीले खाने चलन छ ।

कैयौँ घर परिवारमा त्यस्तो परम्परा जीवित पाइन्छ। तर विज्ञहरू भन्छन्, त्यसको असर बुहारीको शारीरिक र मानसिक स्वास्थ्यमा पर्छ। गर्भवती महिलाले त्यो चलन पछ्याउने हो भने त गर्भको बच्चालाई समेत असर पर्ने उनीहरु बताउँछन्।

अनुभव
पछिल्लो समय सहरमा बसेका एकल परिवार र कामकाजी महिलाका हकमा भने यो चलन लचिलो बन्दै गएको देखिन्छ। जुम्लाकी पद्मकन्या तिमल्सिना समाजमा अझै पनि जीवत परम्पराकी एक साक्षी हुन्।

घरमा सधैँजसो आफूले खाना पकाउने अनि अरूलाई खुवाएर अन्त्यमा मात्र आफ्नो पालो आउने, धेरै पटक आफ्नो पालो आउँदासम्म खाना नै सकिएको अनुभव संगालेकी छन् तिमिल्सिना। उनी भन्छिन्, “खाना पहिले खायो भने बुहारीको यो बानी राम्री होइन भन्थे। खाना सकियो भने खाना पकाउन अल्छी लाग्छ अनि त्यत्तिकै ओछ्यानमा सुत्छु, पेटमा हात राख्या सुत्यो।”

विभेद
समाजमा अझै पनि प्राय: बुहारीले खाना पकाउने, पस्किने र परिवारका सबै सदस्यलाई खुवाएपछि मात्र खाने चलन छ। त्यस्तो चलनले समाजमा महिला र पुरुषको स्थानमा रहेको विभेद छर्लङ पारेको छ । “यसले छोरालाई प्राथमिकता दिएको प्रस्ट देखिन्छ। बुहारी भनेको बाहिरबाट आएकी हुन् भन्ने बुझाइले नै यो चलन आएको हो। परिवारमा जसको शक्ति र महत्त्व धेरै हुन्छ, त्यसैले हो पहिला खान पाउने।”

स्वास्थ्यमा असर
विशेषगरी कम आम्दानी हुने र बचेको खाना पुनर्प्रयोग गर्न मिल्नेगरी राख्ने आधुनिक उपकरण नहुने अथवा बासी खाना नखाने घरमा सकेसम्म नफ्याँकियोस् भनेर अड्कलेर पकाइन्छ।

मीठो मसिनो पाकेको दिन परिवारका सदस्यले अघि पछि भन्दा धेरै खाइदिँदा अन्तिममा खानेलाई अपुग हुने गरेको कैयौँ महिलाहले भोगेको पाइन्छ । उनीहरुले घरभित्रका कुरा ‘इज्जत’का निम्ति बाहिर नल्याएका मात्र हुन्।

आज, भोलि र पर्सि गर्दै लगातार खाना कम भयो भने यसले पोषणको समस्या त ल्याउँछ। साथै समयमै खाना नपाउँदा पेटमा घाउ (अल्सर) हुन सक्छ। यसको सबैभन्दा ठूलो समस्या गर्भवती महिलामा देखिन्छ, यसले आमा र गर्भमा रहेका दुवैलाई प्रभावित पार्छ।”

काममा प्रभाव
संयुक्त राष्ट्रसङ्घका अनुसार गरिबीको रेखामुनि रहेको कुल जनसङ्ख्याको करिब ७० प्रतिशत महिला छन्। दक्षिण एसियाका करिब ६० प्रतिशत महिलाको तौल हुनुपर्ने भन्दा कम छ। यसले गरिबी र पोषणको अन्तर प्रस्ट पारेको छ।
हेर्दा सामान्य लागे पनि पाकेको खाना पहिला खान पाउने वा पछि खानुपर्ने चलनले कतिपयको मानसिक स्वास्थ्यमा समेत प्रभाव पारेको देखिएको छ।

“भोक लागेको छ, खाना पनि छ, तर सबैले नखाइ मैले खान पाउँदिनँ भन्ने सोचका कारण महिलाहरूमा हीनताको भवना उत्पन्न हुन्छ र आत्मविश्वास घट्न थाल्छ”, डा. उप्रेती भन्छिन्, “त्यसले महिलाको मानसिक स्वास्थमा प्रभाव पार्छ र हीनताबोधले गर्दा उनले पछि गएर क्षमता भएको काम पनि गरेर देखाउन सक्दिनन्।”

समाधानमा उपाय
दिनभरि काम गरेर प्रायः चिसो खाना खाने र कतिपय अवस्थामा त पेटभरि पनि खान नपाउने चलनमा पछिल्लो समय केही सकारात्मक परिवर्तन आएको छ।

कमाउन जाने बुहारीको हकमा यो चलन अलि खुकुलो भएको देखिन्छ। उनीहरू पहिला खाएर काममा जान पाएको देखिन्छ। यस्तै एकल परिवारमा सबैजना सँगै बसेर खान थालेका छन्।”

गाँस अर्थात् खाना मानिसको आधारभूत आवश्यकता हो। तर महिलामाथि हुने विभेदका कारण कतिपयले परिवारका सबै सदस्यसँगै बसेर आत्मसम्मानका साथै खान पाएका छैनन्।

जसका कारण उनीहरूमाथि नजाँनिदो किसिमले हिंसा भएको महिला अधिकारकर्मीहरु बताउँछन्। यसको अन्त्यका निम्ति सरकारी र गैरसरकारी क्षेत्रबाट चेतानमूलक हस्तक्षेपकारी नीति ल्याउन जरुरी रहेको उनीहरूको भनाइ छ। बिबिसी